
काठमाडौं, १ भदौ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति नियम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले जलवायु परिवर्तन र यसले पुर्याएका असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गरी संघ प्रदेश र स्थानीय तहको सहकार्यमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले वन संरक्षणमा भएका प्रगतिसँगै यसको सदुपयोग गर्दै कार्वन व्यापारबाट प्राप्त हुने सहयोग सम्बन्धीत क्षेत्रमा नै खर्च गर्ने व्यवस्था मिलाउन वन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले विश्व जलवायु सम्मेलन (कोप २८) मा प्रभावकारी सहभागिताका लागि र नेपालका मुद्दाहरू विश्वसामू उठाउन आपसी सहयोग हुने गरि तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति प्रकाश पन्थले जानकारी दिए ।
त्यस्तै बैठकले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति एवं कानून लागू गर्न सुझाव दिएको सभापति पन्थले बताए । बैठकमा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोले नियम कानून र योजनाका अभावमा नेपालले जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका थिए ।
जलवायुका क्षेत्रमा अर्थमन्त्रालयले विदेशी निकायहरूबाट लिने सहायताको अन्तरवस्तु नमिलेका कारण खर्च हुन नसकेको उनले बताए । मन्त्री महतोले कार्वनका क्षेत्रमा काम गर्नका लागि जनशक्ति र प्रयोगशाला नभएका कारण नेपाल पछि परेको जिकिर गरे ।
बैठकमा समिति सदस्यहरूले जलवायु परिवर्तनमा समयमा नै ध्यान दिन नसकेका कारण अहिले त्यसको असर देखिन थालेकाले गम्भीर हुनुपर्ने समय आएको धारण राखेका थिए ।















प्रतिक्रिया