६ कार्तिक २०८३, शुक्रबार

मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३२ साउन । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् ।

बिहीबार बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । प्रहरीले किसानको हत्या भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । परीक्षणका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि आज तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो। स्थानीय वडाध्यक्ष गिरिराज धमलाले बुधबार साँझदेखि हराइरहेका किसानको हत्या भएको प्रष्ट सङ्केत देखिएको बताए ।

“शवको घाँटी र टाउकामा धारिलो हतियार प्रयोग भएको चोट प्रष्ट देखिएको छ”, वडाध्यक्ष धमलाले भने, “हिजो फुटबल खेल हेर्न जान्छु भनेर घरबाट निस्कनुभएको रहेछ । कसैले हत्या गरेर खेतको पैनीमा शव फालेको अवस्थामा उहाँलाई आज बिहान मात्र भेटियो ।” हत्याको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापा जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले संयुक्तरूपमा अनुसन्धान सुरु गरेको छ ।

स्थानीय मेची विद्योदय आधारभूत विद्यालयको मैदानमा फुटबल खेल हेरेर उनी मेचे गाउँ पुगेकोसम्म जानकारी गाउँलेले दिएका छन् । त्यसपछि कसले र कसरी हत्या गर्‍यो भन्ने केही खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार हिजोदेखि हराइरहेका किसानलाई खोज्ने क्रममा आज बिहान सडकमा चप्पल र रगतको टाटा फेला परेको थियो । त्यसैलाई आधार मानेर पछ्याउँदै जाँदा खेतको पैनीमा झाडीले छोपछाप पारेको अवस्थामा शव फेला परेको थियो ।