६ कार्तिक २०८३, शुक्रबार

सामाजिक सुरक्षा योजनालाई एकीकृत र सघनरुपमा सञ्चालन गरिनेछ: प्रधानमन्त्री

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताएका छन् ।

सामाजिक सुरक्षा कोषद्वारा आज काठमाडौंमा आयोजित अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त योजनाको दिगोपनाका लागि विभिन्न सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई पनि योगदानमा आधारित बनाई यसमा देखिने दोहोरोपना हटाउन एकीकृत सामाजिक सुरक्षा संरचना तयार गरी गाभिँदै लगिने बताएका हुन् ।

कोषलाई राज्यको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने एकीकृत संरचनामार्फत अघि बढाउने गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री दाहालले भने, “कोष समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणका लागि महत्त्वपूर्ण संयन्त्र हो । यो संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता हुन्छ भने अर्कोतिर यस्तो कोषमा श्रमिकको भरोसाका आधार लुकेका हुन्छन् । अनौपचारिक क्षेत्रका श्रमिकले हात–पाखुरा चल्दासम्म श्रम गर्ने र नसक्ने भएपछि रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले सहयोग पुग्नेछ ।”

प्रचण्डले समतामूलक न्यायपूर्ण समाजको स्थापनाका लागि भएका ऐतिहासिक सङ्घर्षका जगमा निर्मित नेपालको संविधानले श्रमिक वर्गको सामाजिक सुरक्षाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेकाले अन्यायमा परेका श्रमिकको अधिकार स्थापना गर्दै उनीहरूको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न नसकेसम्म संविधानको कार्यान्वयन हुन नसक्ने स्पष्ट गरे ।

श्रमिकहरू इतिहासका निर्माता र मुलुकको समृद्धिका संवाहक हुन् भन्ने तथ्यको मनन् गरेर नै सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनालाई आफूले शुभारम्भ गरेको स्मरण गर्दै नयाँ शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताए ।

योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाखभन्दा बढी रहेका सबै श्रमिक मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमश: सहभागी बनाइने सरकारको तयारी छ। नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज तथा समाजवादोन्मुख राजनीतिक तथा आर्थिक प्रणाली स्थापनाका लागि श्रमिकको सामाजिक सुरक्षासहितको अधिकारको प्रत्याभूति अनिवार्य शर्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा सामान्य अवधारणामात्रै नभएर यसले नागरिकले बिनाभेदभाव शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, सहुलियत र सम्मान प्राप्त गर्ने वातावरण निर्माण गर्ने धारणा राखे ।

सामाजिक सुरक्षालाई दिगो र व्यवस्थित बनाउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले कोषमा आबद्ध हुने रोजगारदाता र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको लाभबाट बञ्चित नहोउन् भन्ने कुरा सुनिश्चित गर्न ऐनको कार्यान्वयनका लागि नियमनकारी निकाय परिचालन गरिने जानकारी दिए ।

औपचारिक क्षेत्रका सबै श्रमिकलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागितालगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिने उनको भनाइ छ ।