६ कार्तिक २०८३, शुक्रबार

अर्थतन्त्र सकारात्मक बाटोमा रहेपनि नकारात्मक मात्रै सोच्ने प्रवृत्ति देखियो: अर्थमन्त्री महत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेपनि नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखिएको बताएका छन् ।

आन्तरिक राजस्व विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै मन्त्री महतले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार हुँदै सकारात्मक बाटोमा उन्मुख भएपनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका हुन् ।

उनले कोरोना महामारी र रूस–युक्रेन युद्धको असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे । चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिए ।

महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको दावी गरे ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीमा सुधार गर्दा पनि जीडीपी सकारात्मक भएपनि राजस्व संकलन भने कम हुनुको कारणबारे अध्ययन भइरहेको बताए ।

मैनालीले कर प्रणालीलाई चुस्तदुरुस्त राखेकाले लक्ष्य अनुसारको राजस्व संकलन हुने विश्वास व्यक्त गरे । त्यस्तै निजी व्यवसायीहरूले करको दरभन्दा पनि दायरा बढाउन सके सरकारले राखेको लक्ष्यअनुसार राजस्व उठ्ने धारणा राखेका थिए ।

ठूलो संख्यामा व्यवसाय तथा व्यक्तिहरू कर प्रणाली बाहिर रहेकाले त्यसलाई समेट्न सक्नुपर्ने उनीहरूको भनाइ छ । व्यवस्थापन गोष्ठी दुईदिनसम्म चल्ने राजस्व विभागले जनाएको छ ।