६ कार्तिक २०८३, शुक्रबार

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ३० साउन । सोमबार मुगुमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका सोरू गाँउपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिए ।

घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ।

साथै दुर्घटनामा परी घाइते सोरू–७ का चालक दिनेश लावड, सोरू–५ का गोविन्दा शाही सोरू–६ का सेरे रोकाया र हुम्ला सिमिकोट–२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ।

सोमबार बेलुका ४ बजे सोरू गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ।