आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

गत वर्ष संक्रमण नदेखिएका स्थानमा यो वर्ष डेंगीको प्रकोप धेरै

दैनिक नेपाल २०८० साउन २२ गते १७:१७

काठमाडौं, २२ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरूमा यस वर्ष संक्रमण धेरै देखिएको बताएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महाशाखाका निर्देशक डा. रूद्र मरासिनीले डेंगी संक्रमणको महामारी निश्चित स्थानमा दुई/तीन बर्षमा दोहरीने देखिएको बताए ।

७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनैपनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीको रूप लिनेसक्ने उनको भनाइ छ । गतवर्ष काठमाडौं उपत्यका, हेटौँडा, चितवनमा डेंगीले महामारीको रूप लिएको थियो ।

यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ । साथै उनले वर्षौँसम्म डेंगी संक्रमण देखिरहन सक्ने पनि बताए । मरासिनीले ‘डेङ्गी नियन्त्रण: खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताए ।

त्यस्तै सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताए ।

विसं २०६१ मा पहिलो पटक डेङ्गुका बिरामी देखा परेपछि प्रत्येक वर्ष क्रमश: यस्ता सङ्क्रमित बढ्दै गएको उनको भनाइ छ । नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित