
काठमाडौं, १८ साउन । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले गत शनिबार आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती मनाएको छ ।
भानुको योगदानको चर्चा, श्रष्टा अभिनन्दन, सम्मान ,पुरस्कार समर्पण, पुस्तक बिमोचन साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्यरूपमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित घट्टेकुलो विकास समाजको हलमा सम्पन्न कार्यक्रममा १५० भन्दा बढिको संख्यामा साहित्यकार साथै साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम रोटरी क्लब अफ काठमाडौं र रोट्रयाक्ट क्लब अफ काठमाडौंको सहकार्यमा आयोजना गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरे प्रमुख अतिथि रहेका कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले गरेका थिए । कार्यक्रममा विभिन्न सर्जक एवम् श्रष्टा र समाजसेवीहरूलाई विश्व नेपाली भानु शिखर अभिनन्दन पत्र-२०८० प्रदान गरिएको थियो ।
अभिनन्दित हुनेहरूमा वरिष्ठ समाजसेवी एवम् साहित्यकार मनमाया सिटौला, वरिष्ठ समाजसेवी एवमे साहित्यकार स्नेह पोखरेल, वरिष्ठ समाजसेवी एवम् स्वास्थ्यसेवी टंकबहादुर श्रेष्ठ, वरिष्ठ लेखक एवम् समाजसेवी सुरेन्द्र ढकाल रहेका छन् । यस्तै, विश्व नेपाली भानु शिखर सम्मान-२०८० बाट सम्मानित हुनेहरूमा वरिष्ठ समाजसेवी एवम् शिक्षासेवी ई. ईश्वरकान्त सिटौला, वरिष्ठ कवि तथा साहित्यकार बालिका गिरी, वरिष्ठ समाजसेवी एवम् धार्मिक अभियन्ता शिवराम राजवंशी, रोटरी क्लब अफ काठमाडौंका प्रेसिडेन्ट किशोर उप्रेती, रोटरी क्लब अफ काठमाडौंका पास्ट प्रेसिडेन्ट तिर्थराज दाहाल, वरिष्ठ पत्रकार एवम् मुक्तककार निशा केसी, वरिष्ठ शिक्षासेवी एवम् कलाकार कृष्णकुमार बोहरा रहेका छन् ।
त्यस्तै वरिष्ठ समाजसेवी स्वर्गीय लक्ष्मीप्रसाद प्रसाईका परिवारबाट आफ्ना बुबा आमाको नाममा स्थापित लक्ष्मीप्रसाद सावित्रा विश्व नेपाली भानु शिखर सम्मानर पुरस्कार-२०८० बाट वरिष्ठ कवि, गीतकार एवम् कलाकार रमेश पौडेललाई सम्मानित गरिएको छ । पुरस्कारको राशी २५००० रहेको थियो ।
त्यस्तै स्वर्गीय लक्ष्मीप्रसाद प्रसाईंकै परिवारबाट स्वर्गीय भरतकुमार प्रसाई (लक्ष्मी प्रसाद प्रसाईको साहिंलो छोरा) को नाममा स्थापित भरतकुमार प्रसाईं भानु नव प्रतिभा पुरस्कार-२०८० बाट रोट्रयाक्टर र इन्टर्याक्ट सम्मिलित प्रतिष्पर्धी कविहरू मध्ये स्वस्तिका ज्ञवालीलाई प्रथप पुरस्कार, द्वितिय हुने अनुप रेग्मी, तृतिय हुने सुशील हट्वाल र सन्तोष तुलाधरलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी १५००० रहेको थियो । अन्य सहभागी कविहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितात्मक कवि गोष्ठीमा विजयीहरूको छनौट विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा गठित डा. फणीन्द्रराज निरौला संयोजक, संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम् प्राज्ञ लक्ष्मी उप्रेती र डा. छायांदत्त न्यौपाने सदस्य रहेको कमिटीले गरेको थियो। कार्यक्रममा राधिका दाहालद्वारा लिखित बाल कविता संग्रह ‘आमाको काख’ को विमोचन पनि गरिएको छ ।















प्रतिक्रिया