६ कार्तिक २०८३, शुक्रबार

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने दुईजना पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्रहरीले विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बुढानीलकण्ठमा घर भाडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेर बोलपत्र आह्वान गरी ठगी गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बुढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । तीन जना अझै फरार छन् ।

फरार रहेकाहरूमा दिपेश गुरुङ भन्ने भीम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले गत जेष्ठ १ गते विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोली फर्निचर लगायतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरु तथा खाद्य सामग्रीहरू खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृत समेत गरी विभिन्न सामानहरू ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरूबाट दुई लाख रुपैया, नेपालको राष्ट्रिय झण्डाहरू, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप लगायत बरामद भएको छ । थप अनुसन्धान भइरहेको कार्कीले बताए ।