
काठमाडौं, ३ साउन । नेपाली काँग्रेसको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्यहरूले वर्तमान गठबन्धनको आवश्यकता नरहेको धारणा राखेका छन् । चुनावका लागि मात्रै गठबन्धन बनाइएको भन्दै अब गठबन्धन आवश्यक नरहेको बताएका हुन् ।
केन्द्रीय सदस्यहरूले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको विधानलाई सही तवरले कार्यान्वयन गर्दै संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका हुन् ।
कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रीकृत मानसिकता हट्न नसकेको उनीहरूले गुनासो गरेका छन् । बैठकमा प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई वेवास्ता गरिएको, पार्टी विधी र विधानअनुरुप चल्न नसकेको धारणा राखेका थिए ।
बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले बैठक पारदर्शी ढंगले अघि बढेको र रचनात्मक कुराहरू छलफलका क्रममा आएको बताए । समग्रमा पार्टीलाई बलियो बनाउनुपर्नेमा नै सदस्यहरूले जोड दिएका उनको भनाइ छ ।
बुधबारको बैठकमा जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार वुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ्ग, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल र आमन्त्रित प्रदेश सभापतिहरू लगायत ४६ जनाले धारणा राखेका थिए ।
बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले अर्को बैठक बिहीबार ११ बजे पुन: बोलाइएको छ ।















प्रतिक्रिया