
काठमाडौं, १७ जेठ । टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कठायत बोहोराले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेशी तोकेको हो ।
चौधरीलाई आममाफी दिने सरकारको निर्णय रोक्न गत आइतबार नै बोहोराले पेश गरेको रिट निवेदन सर्वोच्चले मंगलबार दर्ता गरेको हो ।

तर, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिइसकेका छन् ।
चौधरी जेल मुक्त भएर टीकापुर फर्किसकेका छन् ।

सर्वोच्च अदालतबाट दोषी ठहर भएको र अदालतको पूर्णपाठ समेत तयार भइनसकेको अवस्थामा राष्ट्रपतिले चौधरीलाई माफी दिएपछि सरकार र राष्ट्रपतिको चर्को आलोचना र प्रदर्शन भइरहेको छ ।
टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।











प्रतिक्रिया