
काठमाडौं, २८ वैशाख । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले प्रयोग गर्दै आएको गाडी पार्टीको भएको प्रष्ट पारेका छन् ।
आफूले प्रयोग गर्दै आएको बा १२ च ५२११ नम्बरको गाडी निर्वाचन आयोगको भएको भन्दै एक अनलाइनमा प्रकाशित भएको समाचार कपोकल्पित र झूटो भएको पोखरेलले बताएका छन् ।
‘मैले हाल चढिरहेको गाडीको विषयमा ‘रातोपाटी’ अनलाइनमा प्रकाशित कपोलकल्पित र झुटो समाचारको घोर भर्त्सना गर्दछु,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिदै भनेका छन्, ‘हाल मैले चढिरहेको गाडी मलाई मेरो पार्टी कार्यालयले पार्टीको पदीय हैसियतबमोजिम जिम्मेवारी निभाउन प्रदान गरेको गाडी हो ।’
आफू उपप्रधानमन्त्री रहँदा विभिन्न मन्त्रालयहरूको जिम्मेवारी सम्हालेको र त्यसबखत प्रयोग गरेको गाडीलगायत सम्पूर्ण उपकरणहरू पदबाट राजीनामा दिएलगत्तै सम्बन्धित निकायमा बुझाइसकेको स्पष्ट पार्दै उनले भनेका छन्, ‘म उपप्रधानमन्त्रीको हैसियतमा सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रयोग गरेको सरकारी गाडी लगायत सम्पूर्ण सरकारी सुविधा तथा उपकरण मैले मन्त्री पदबाट विदा भएकै दिन सम्बन्धित निकायमा बुझाएको कुरा त्यसैबेला जानकारी गराइसकेको छु ।’
उनले आफ्नो इमान, निष्ठा र स्वाभिमानसँग आत्तिएका व्यक्ति र शक्तिलाई आफूले नियमविपरीत गरेको कुनै क्रियाकलाप भए पुष्टि गर्न चुनौती पनि दिएका छन् ।
‘ममाथि विगतमा पनि पटक–पटक झुटो आरोप लगाउँदै चरित्रहत्या गरी जनमानसमा भ्रम फैलाउने कार्य गरिँदा पनि म पटक–पटक आफ्नो पदीय गरिमा ख्याल गरी चुप बसेँ । मेरो इमान, निष्ठा र स्वाभिमानसँग आत्तिएका कुनै पनि व्यक्ति र शक्तिलाई मैले नियमविपरीत गरेको कुनै क्रियाकलाप भए पुष्टि गर्न चुनौती दिन चाहन्छु,’ उनले भनेका छन्, ‘निश्चित उद्देश्यका लागि परिचालित भई लगाइने यस्ता कपोकल्पित र आधारहीन लाञ्छनाबाट भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।’













प्रतिक्रिया