
काठमाडौं, २५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अर्थतन्त्रको विद्यमान चुनौतीको सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिदै पौडेलले अर्थतन्त्रका सम्भावित चुनौतीलाई सामना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने लक्ष्यका साथ बजेट आउनुपर्नेमा जोड दिएका हुन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले राजस्व परिचालनका सन्दर्भमा देखा परेका गम्भीर समस्याको पहिचान गर्दै कर प्रणालीलाई प्रभावकारी बनाउने, कर चुहावट नियन्त्रण गर्न सक्ने आर्थिक अवस्था सुधार हुन सक्ने बताए ।
मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन बजेट केन्द्रित हुनुपर्ने उनले बताए । चालू आर्थिक वर्षको अर्थिक वृद्धिदरको लक्ष्य हासिल हुन कठिनाइ हुने देखिएको र राजस्व संकलन पनि राम्रो नभएको अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने चूनौती विद्यमान रहेको उनको भनाइ छ ।













प्रतिक्रिया