२९ आश्विन २०८३, बिहिबार

सरकारलाई एमालेको प्रश्न– सरकारका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्नो पार्टी सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको हुनसक्ने बताएका छन् ।

रायमाझीलाई पक्राउ गर्न सरकारले पुर्जी जारी गर्नु, उपप्रधानमन्त्री समेत भइसकेका व्यक्तिलाई भेटिएन भनेर फरारको सूचीमा राख्नु र कुनै खोजबिन नगर्नुले सरकारप्रति थुप्रै आशंका जन्माएको उनले बताएका हुन् ।

पक्राउ पुर्जी जारी गरेको समाचार आफूहरूले सुन्दा सचिव रायमाझी सार्वजनिक कार्यक्रममै रहेको र कार्यक्रममा प्रहरीहरू समेत हुने भएकाले भेटिएन भनेर व्यक्ति बेपत्ता पार्न नपाइने तामाङको भनाइ छ । मेरो पार्टीका सचिव खोई भन्दै उनले सरकारसँग प्रश्न गर्दै भने, ‘म सरकारलाई प्रश्न गर्न चाहान्छु– सरकारमा बस्नेहरूले किन खोज्न सक्नुभएन ? उहाँहरूकै निगरानीमा हुनुहुन्छ । सार्वजनकि कार्यक्रममै हुनुहुन्थ्यो भन्ने पनि सुन्यौं । सार्वजनिक कार्यक्रममा पुलिस/प्रशासन पनि थियो होला । पक्राउ पुर्जी जारी गर्‍यो भन्ने पनि सुनेको हो, सरकार आफ्नो दायित्वबाट नपन्छियोस् ।’

उनले उक्त प्रकरणमा मुछिएका रायमाझीलाई कतै गैरन्यायिक हिरासतमा राखिएको हो कि भनेर आशंका समेत गरेका छन् । ‘सरकारले मेरो आँखा पुगेन भन्न मिल्छ र ? एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटर क्षेत्रफलभित्र सरकारले सबै ठाउँमा मेरो आँखा पुगेको छ भन्नुपर्छ । सरकारलाई नै प्रश्न छ– टोपबहादुरजी कहाँ हुनुहुन्छ ? हामीले पनि टोपबहादुरजी कतै गैरन्यायिक हिरासतमा पो छन् कि भनेर खोजी गर्नुपर्ने बेला आएको छ । हाम्रो त नेता नै हो । पार्टीको सचिव हो । म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

विषय उठेपछि यसको छिनोफानो हुनैपर्ने भन्दै उनले एमालेको कोणबाट अनुसन्धान प्रभावित गर्ने कुनै पनि भूमिका नहुने स्पष्ट पारे । एमालेले कसैलाई बचाउनुपर्ने आवश्यकता नभएको र एमालेको छाता ओढेर कसैले बेइमानी गर्छ भने त्यसलाई बचाउने काम नगर्ने उनको भनाइ छ ।

उनले उक्त प्रकरणको अनुसन्धान प्रक्रियालाई लिएर आफूहरुलाई अलि–अलि शंका लाग्न थालेको पनि बताएका छन् ।

‘यो प्रकरणमा प्रश्न अरुमाथि पनि तेर्सिएकै छन् । अरु धेरै मान्छेहरुको नाम मुछिएका छन् । केही सीमित मान्छेहरुलाई कारबाही गरेको देखाएर कतै अरुलाई उम्काउन त खोजिएको छैन् ? यो विषय एक वर्षदेखि छानबिन भइरहेको छ भन्ने कुरा आएको छ, बयानका क्रममा आएका विषय आज गुपचुप राखिँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो प्रकरणमा के–के भएको हो, सत्य–तथ्य सबै बाहिर ल्याउनुपर्छ भन्नुभएको छ, कसैलाई बचाउने वा अरुलाई फसाउने काम गर्नुहुँदैन भनेर भन्नुभएको छ,’ उनले भने, ‘यसमा मुछिएका जतिपनि छन्, ती सबै बाहिर आउनुपर्छ । अपराधीहरु छुटाउन पाईँदैन । जुनसुकै दल र जुनसुकै पदका होउन्, यो संगठित मानव तस्करी हो । राज्य पक्ष मिलेर गरिएको मानव तस्करी हो । यो जघन्य अपराध हो । यसको अन्त्य गरिनुपर्छ । यसमा संलग्न दोषीहरुलाई कारबाहीको दायरालाई ल्याउनुपर्छ । यसको खुट्टा नकमाई छिनोफानो गरिनुपर्छ ।’