
काठमाडौं, २२ वैशाख । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कतिपय निर्वाचन क्षेत्रहरूमा नेकपा एमालेलाई कम मत आउनुमा पार्टीभित्रकै समस्या कारक रहेको बताएका छन् ।
एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै उनले एमालेमा आन्तरिक द्वन्द्व, पदलोलुपता, अराजकता र अनुशासनहीनताका कारण पछिल्ला निर्वाचनमा कतिपय स्थानमा पार्टीको कुल सदस्य सङ्ख्याभन्दा कम मत खसेको बताएका हुन् ।
यिनै समस्यालाई समाधान गरेर पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा उभ्याउन पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताउँदै उनले अभियानबाट पार्टीले धेरै कुरा हासिल गरेको बताए । नेता र कार्यकर्तालाई जनताको भुइँ तहमा सक्रिय तुल्याउन अभियान सञ्चालन गरिएको र त्यो सफल भएको उनको भनाइ थियो ।
पार्टीमा ९० प्रतिशत नेता कार्यकर्ता पेटी बुर्जुवा हुन पुगेकामा चिन्ता व्यक्त गर्दै माक्र्सवादको मार्गदर्शनअनुसार श्रमजीवी वर्गलाई मूल आधार बनाउनुपर्नेमा उपमहासचिव गुरुङको जोड छ ।
विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले मातहतका चार विशेष जिल्ला कमिटीको समीक्षाका आधारमा प्रतिवेदन तयार गरी पार्टीको आउँदो केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २९ गते झापामा बस्दैछ ।















प्रतिक्रिया