३० आश्विन २०८३, शुक्रबार

मतदातासँग सर्वेन्द्रको आग्रह : पहिला योजना दिन र अहिले भोट माग्न आएको छु रित्तै नपठाउनुहोला

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २७ चैत । तनहुँ निर्वाचन क्षेत्र नं. १ का लागि नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले चुनावी प्रचार–प्रसारलाई तीव्र पारेका छन् ।

यसै क्रममा आज उनी जिल्लाको भानु नगरपालिका वडा नं. ६ स्थित चन्द्रावती पुगेका छन् । चुनावी अभियानकै क्रममा सोमबार देवघाट जाने तयारीमा रहेका खनाल चन्द्रवतीका मतदाताको आग्रह र अनुरोधमा आफ्नो जन्मस्थान समेत रहेको ६ नम्बर वडामा पुगेका हुन् । भानु–६ सिम्पानी खनालको जन्मस्थान हो ।

खनाल आउने भएपछि चन्द्रावतीका बासिन्दा एक घन्टाअघिदेखि नै उनको प्रतिक्षामा बसेका थिए । खनाल पुग्नेवित्तिकै यहाँका स्थानीयले स्वागत गर्दै उनको जित सुनिश्चित रहेको जनाउ दिए । कतिपय मतदाता आफूहरू पार्टी नजान्ने बताउँदै खनाललाई मतदान गर्ने बताइरहेका थिए ।

खनालले पनि आफू जहाँ जन्मिएको हो सोही क्षेत्रको जनप्रतिनिधिको उम्मेदवार बनेर आउन पाउँदा खुसी लागेको र तनहुँ–१ का मतदाताले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । आफू यसअघि प्रहरी सेवामा रहेका कारण बारम्बार जन्मस्थान आउन नपाए पनि विभिन्न कामको शिलशिलामा पटक–पटक आएको बताए ।

‘यसअघि विभिन्न योजना दिन आएँ, अहिले भोट माग्न आएको छु । म तपाइँहरूकै छोरा र भाइभतिजा हुँ । यहाँहरुले रित्तो हात पठाउनुहुने छैन भन्ने पूर्ण विश्वास लिएको छु,’ मतदाताहरूसँग उम्मेदवार खनालले भने । यसअघि विभिन्न योजना दिन चन्द्रावती आएको र यसपटक भने मत माग्न आएको उनको भनाइ थियो ।

खनालले आफ्नो जन्मभूमि तनहुँ जिल्लालाई सर्वाेत्कृष्ठ बनाउने अठोट लिएको बताए । ‘तनहुँ जिल्लालाई सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने अठोट लिएर राजनीतिको मैदानमा आएको छु,’ उनले भने, ‘कसैले त भन्छन्, व्यक्तिगत लाभका लागि आयो, तर मैले त यो देशका लागि यो देशको झण्डा फरफराउने, देशको सान राख्ने काम गरेको छु । अहिले योजनाका हिसाबले म यो गर्छु, त्यो गर्छु भनेर कोही आउनुहोला । उहाँहरू आउनुहुन्छ जानुहुन्छ, म त सधैं यहीँको मान्छे हुँ ।’

आफू जे राम्रो देखिन्छ त्यो काम गर्ने मान्छे भएको बताउँदै खनालले भने, ‘को आयो भनेर धेरै सरोकार राख्दिन, मैले राख्नुपर्ने के छ भने नेपालीको मन–मनमा, हरेक नागरिकलाई शीरमा राखेर अघि बढ्नुपर्छ । प्रहरीमा हुँदा पनि जनतासँगै बसेर काम गर्नुपर्छ भनेर जनतासँग मिलेर काम गरेको मान्छे हुँ, को–को आउनुभयो जनताले चिन्नुहोला नि ।’

आफ्नो जन्मभूमिमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने अवसर नेकपा एमालेले दिएको र तनहुँवासी र समग्र नेपालको सेवा गर्ने अवसर पुन: एकपटक प्राप्त गरेको भन्दै खनालले जहाँ रहे पनि आफ्नो भावना तनहुँसँग जोडिएको बताए ।