
काठमाडौं, २७ चैत । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले देश आर्थिक सङ्कटमा पर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सत्ताको फोहोरी खेल खेल्दै आनन्द लिइरहेको बताएका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभाको बठैकमा सचेतक गिरिले प्रधानमन्त्री प्रचण्डलाई पद र सत्ताबाहेक अन्य कुनै पनि विषयको चिन्ता नभएको बताउँदै मुलुकको अवस्थाबारे बेवास्ता गरिरहेको आरोप लगाएका हुन् ।
‘देशमा आर्थिक मन्दी छाइरहेको छ । मुलुकको यस्तो नाजुक अवस्थामा प्रधानमन्त्री बालुवाटारमा बसेर सत्ताको फोहोरी खेल खेल्दै आनन्द लिइरहनु भएको छ । उहाँलाई त्यहाँ भन्दा बाहिर कुनै कुराको चासो छैन्,’ सचेतक गिरिले भने ।
देशमा आइपरको आर्थिक मन्दीको विषयमा संसदमा प्रधानमन्त्री किन बोल्नुहुन्न ? किन अर्थमन्त्रीले आएर बोल्नुहुन्न ? भन्दै सांसद गिरिले संसदसमक्ष स्पष्टीकरण पेश गर्न पनि माग गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले सदनमा आएर सदनप्रति जवाफदेही भएर मुलुकको यो अवस्था के कारणले आयो भनेर र मुलुकको यो समस्यालाई समाधान गर्न सरकारले के–के विकल्प सोचिरहेको छ भन्ने कुरामा संसदलाई आस्वस्थ पार्न सक्नुपर्छ,’ सचेतक गिरिले भने ।
सरकारले मुलुकको संकटग्रस्त अवस्थालाई प्राथमिकता नदिएको र सदनमा आएर प्रधानमन्त्री प्रचण्डले संसदहरुलाई यो विषयमा स्पष्ट पार्न नसकेको उनको आरोप छ । ‘उपप्रधानमन्त्री पश्चिम जानुभयो, माटोमा ढोग्नु पनि भयो हामीले हेर्यौं । अनि उहाँले भन्नुभएको छ देशको अर्थतन्त्र भयावह अवस्थामा छ, सङ्कटग्रस्त अवस्थामा छ । वैशाखबाट कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने स्थिति आएको छ । तर त्यही कुरा आज संसदमा प्रधानमन्त्री किन बोल्नुहुन्न ? किन अर्थमन्त्रीले आएर बोल्नुहुन्न,’ उनले प्रश्न गर्दे भने ।
एमाले सरकारमा रहुञ्जेलसम्म मुलुकको अर्थतन्त्र राम्रो अवस्थामा रहेको दाबी गर्दै सचेतक गिरिले भने, ‘अहिलेको सरकारले त्यसलाई सिध्याउन खोजिरहेको छ ।’















प्रतिक्रिया