
बारा, २६ चैत । नेकपा एमालेको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले बारा–२ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।
उनले जनताको अपार माया, विश्वास र समर्थन बढ्दै गएको बताउँदै वैशाख १० गते हुने निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गरेका हुन् ।
निर्वाचन क्षेत्रको पचरौता बजारमा घरदैलोपछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकाश निर्माणको काम गर्ने, ज्येष्ठ नागरिक भत्ता, बालपोषण भत्ता र सामाजिक सुरुक्षाको क्षेत्रमा आमुल परिवर्तन गर्ने नेकपा एमाले जनताको रोजाइको पार्टी बनेको बताए । बारा–२ का जनता एमालेको पक्षमा रहेको र आफ्नो जित सुनिश्चित रहेको उनको भनाइ छ ।
सभामा पोलिटब्युरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य अच्युत मैनालीलगायतले एमाले देशको विकास र समृद्धिको मार्ग कोर्ने पार्टी भएको बताए । नाकाबन्दीमा नझुकेको, अतिक्रमित भूमि समेटेर नेपालको नक्शा पारित गराएकोलगायत काम नेपाली जनताले मन–मनमा सजाएर राखेकाले पनि उप निर्वाचनमा बारा–२ सहित तीन वटै क्षेत्रमा जित हासिल हुने बताएका छन् ।
















प्रतिक्रिया