
काठमाडौं, २४ चैत । नेकपा एमालेले करिब दुई महिनादेखि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज धादिङको अति बिकट रुबी भ्याली गाउँपालिकामा भव्य कार्यक्रम आयोजना गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीयको व्यापक सहभागिता रहेको थियो ।
अभियानअन्तर्गतका पछिल्ला कार्यक्रमहरू समीक्षा, अनुगमन र निष्कर्ष निकाल्ने काममा केन्द्रित भइरहेका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
धादिङ
नेकपा एमालेले सुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत देशैभर विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यसैबीच, आज धादिङमा भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएको छ । रुवी भ्याली गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सरकार नबनेसम्म देशको विकास नहुने बताउनुभएको छ ।

मिसन ग्रासरुट अभियानअन्तर्गत आज धादिङको रुवी भ्याली गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले एमालेको सरकार नबनेसम्म देश नबन्ने बताउनुभएको हो । अहिले पनि एमाले बलियो पार्टी रहेको तर, सत्ताको नेतृत्व गर्नबाट वञ्चित भएको चर्चा गर्दै उहाँले अर्को निर्वाचनमा बहुमतसहित सरकारमा जानुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसैका लागि पार्टीले ‘मिसन ग्रासरुट’ अभियान चलाएको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले विदेशीले जोडजाड गरेर बनाइदिएको वर्तमान सरकारका कारण नेपालको अर्थतन्त्र ध्वस्त भएको बताउनुभयो । अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएकाले धेरै विकासको बजेट आउने अपेक्षा गर्न नसकिने उहाँको धारणा छ । अर्को निर्वाचनमार्फत जनताले एमालेलाई बहुमत दिने र जोडजाडबिनै नेपाली माटोको सरकार बनाएर मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउने उहाँले बताउनुभयो ।
स्याङ्जा
मिसन ग्रासरुट अभियानअन्तर्गत स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर–१४ सतौं मैदानमा वडा भेला, योजना तर्जुमा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी पोलिट्ब्यूरो सदस्य लिलाबहादुर थापामगरको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

पोलिट्ब्यूरो सदस्य मगरले पार्टीभित्र पछिल्लो समय देखिएको सांगठनिक आराजकता अन्त्य गर्न यो अभियान निर्णायक हुने धारणा राख्नुभयो । यस्तै, कार्यक्रममा गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यले अभियानले जबजका तीन ‘प’ पहलकदमी, प्रतिस्पर्धामा श्रेष्ठता र परिवर्तनशिलताको मूल मर्म बुझेर कमिटी तथा सदस्यहरू परिचालित हुन अभिप्रेरित गर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्यहरू नारायण मरासिनी, सुधिर कुमार पौडेल, जिल्ला सचिवालय सदस्य शेषराज ढकाल, जिल्ला सदस्य कोपिला गिरीले मन्तव्य राख्नुभएको थियो ।
हुम्ला
हुम्लाको सिमकोटमा नेकपा एमाले जिल्ला कमिटी बैठक बसि मिसन ग्रासरुट अभियानको समीक्षा गरिएको छ ।

पार्टी केन्द्रीय सदस्य नीरज आचार्यको आतिथ्यता र कमिटी कमिटी अध्यक्ष कलबहादुर हमालको अध्यक्षतामा बसेको बैठकमा सवै वडा र पालिकामा संचालन भएको अभियानको समीक्षा, पालिकाका प्रतिवेदनहरूमाथिको समीक्षा गर्नुका साथै समीक्षा प्रतिवेदनसमेत तयार गरिएको छ । बैठकमा केन्द्रीय सदस्य आचार्यसँगै, केन्द्रीय प्रतिनिधि लंक बहादुर शाहीले सम्बोधन गर्नुभएको थियो ।
नवलपुर
मिसन ग्रासरूट अभियानअन्तर्गत नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ४, १३ र १७ मा कार्यक्रम सम्पन्न भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधि समेत रहनुभएका पार्टी पार्टी केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय लेखा आयोग सदस्य तथा प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठ, पार्टी गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य शोभियत ढकाल लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा केन्द्रीय सदस्य कार्कीले पार्टीका संगठित सदस्यहरूको सदस्यता नवीकरणमा जोड दिन आग्रह गर्नुभयो ।
उहाँले पार्टीका कार्यकर्ताहरूलाई भावनात्मक एकता कायम गरी पार्टीलाई सुदृढीकरण र विस्तार अभियानमा जोड्न पनि विशेष निर्देशन दिनुभयो । कार्यक्रममा पार्टीलाई सहयोग गर्ने अग्रज, जेष्ठ नागरिक तथा शेल्टरदाता १० जनालाई सम्मानसमेत गरिएको छ ।
सल्यान
सल्यानको कुमाख र सिद्धकुमाख गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रासरुटका कार्यक्रमहरू सम्पन्न भएका छन् । पालिकादेखि वडा र टोल तहसम्मका विभिन्न कृयाकलपहरू सम्पन्न भएको अभियानमा खटिनुभएका केन्द्रीय प्रतिनिधि ठम्मर विष्टले जानकारी दिनुभयो ।
उहाँकाअनुसार संगठन सुदृढीकरण र बिस्तार अभियानअन्तर्गत निर्दीष्ट कार्यक्रमहरू सदस्यता नवीकरण, नयां सदस्यता वितरण, बैठक, भेला, प्रशीक्षण, जनभेटघाट, अन्य पार्टीबाट समायोजन एवम् घरदैलो अभियानका कार्यहरू घनिभुत रूपमा सम्पन्न भएका हुन ।

देश निर्माणमा अरू पार्टीबाट जनताले आशा मारीसकेकाले बलीयो पार्टी निर्माणमार्फत राष्ट्र निर्माणको संकल्प पूरा गर्ने अभिभारा एमालेको कांधमा आएको भन्दै केन्द्रीय प्रतिनिधि विष्टले ग्रासरुटले संगालेका उपलब्धीलाई युद्धस्तरमा निरन्तर रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, कुमाख र सिद्धकुमाख गाउँपालिकामा अभियानको समीक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । यहि चैत्र २० देखि २५ गते सम्म समिक्षाका कार्यक्रम सम्पन्न गरिएको भन्दै विष्टले मिसन ग्रासरुटले जनस्तरमा एमालेप्रतिको विश्वासलाइ बढाएको बताउनुभयो । अभियानका क्रममा अन्य पार्टीबाट नेतृत्व तहमा कृयाशिल व्यक्तिहरू समेत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
कास्की
प्रेस चौतारी नेपालको तीन वटा केन्द्रीय आयोग (अनुशासन, लेखा र निर्वाचन) मा गण्डकी प्रदेशमा कार्यक्षेत्र रहनुभएका उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यहरूको विशेष बैठक आज पोखरामा सम्पन्न भएको छ । एमाले गण्डकी प्रदेश समितिका उपसचिव एवम् प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यको प्रमुख आतिथ्यता र अनुशासन आयोग उपाध्यक्ष श्याम कुबरको अध्यक्षतामा सम्पन्न बैठकले मिसन ग्रासरूट अन्तर्गत प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण अभियान अन्तर्गत केन्द्रीय कमिटी र गण्डकी प्रदेश कमिटीबाट आयोगका पदाधिकारी र सदस्यलाई प्रदान गरिएका जिम्मेवारी गम्भीरतापूर्वक कार्यान्वयन गर्ने योजना बनाएको छ ।
प्रेस चौतारी नेपालको नेकपा एमालेका उपमहाचिब तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा यहि फागुन २९ गते पोखरामा सम्पन्न गण्डकी प्रदेश समितिको बैठकले आयोगका पदाधिकारी र सदस्यहरूलाइ अनुगमन, मुल्यांकन र सुपरिबेक्षणको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । योजना र निर्णय कार्यान्वयनको लागि सोहीमुताबिक गण्डकीका ११ वटै जिल्लामा अनुगमन र सुपरीवेक्षणका लागि जिल्ला संयोजकको ब्यबस्था गरिएको लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
जस अनुसार कास्कीमा एकराज गिरि, तनहुँमा नारायण खड्का, नवलपूरमा राजेश सोनाम, लमजुङमा जनक श्रेष्ठ, गोर्खामा इतराज गुरुङ, पर्बतमा श्याम कुबर, बागलुङमा राजाराम पौडेल, म्याग्दीमा दिपक पौडेल, स्याङ्जामा मुक्ति पौडेल, मनाङ् र मुस्ताङमा रामजी प्रसाद लम्साललाई संयोजक तोकिएको छ ।
बैठकमा एमाले गण्डकी प्रदेश समितिका सदस्य एबम प्रचार तथा प्रकाशन बिभाग उप प्रमुख पुण्य पौडेल, प्रेस चौतारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज सुश्मा पौडेल, प्रेस चौतारी नेपालका पूर्बकेन्द्रीय सचिव दुर्गा भण्डारी, लेखा आयोगका सदस्यद्वय राजाराम पौडेल र दिपक पौडेल, निर्वाचन आयोग सदस्य एकराज गिरिसहितको उपस्तिथि रहेको थियो ।
मुगु
मिसन ग्रासरूट अभियानअन्तर्गत मुगुको छायानाथ रारा नगरपालिकामा समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा अभियानअन्तर्गत भएका कार्यहरूको समिक्षा गर्नाका साथै आगामी कार्ययोजनाकाबारेमा छलफलसमेत गरिएको जानकारी दिइएको छ ।
















प्रतिक्रिया