३ कार्तिक २०८३, मंगलबार

माओवादी विचौलियामा रुपान्तरण भइसक्यो: विष्णु रिजाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताएका छन् ।

जुम्लाको खलंगामा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा माओवादीको शक्ति निरन्तर घटिरहेको र नेताको महत्वाकांक्षा बढिरहेको बताउदै उनले यसले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको बताएका हुन् । एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज हो ।’

वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नेता रिजालले अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागबण्डा र कमिसनको खेलमा बित्ने चिन्ता व्यक्त गरे। ‘तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नपर्ने, महिना–महिनामा विश्वासको मत लिनुपर्ने र सम्पूर्ण समय सत्तारूढ दलकै बैठकमा बिताउनुपर्नेबाट देशको विकास होला भन्ने अपेक्षा गर्नु नै व्यर्थ छ, उनले भने ।

उनले सत्तारूढ पार्टीहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा भने समानता रहेको बताए।

‘आफू जसरी पनि पदमा जाने, परिवारका सदस्यहरूलाई नियुक्ति दिने, आफू निकटलाई ठेक्कापट्टा दिने जस्ता कुरामा प्रचण्ड र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भइरहेको बताउँदै उनले अब मुलुक दुई परिवारको प्राइभेट कम्पनीका रूपमा दुरुपयोग हुने आशंका व्यक्त गरे ।

कांग्रेसको भविष्य नदेखेर नेता(कार्यकर्ताले पार्टी छाडिरहेको प्रसंग उल्लेख गर्दै रिजालले पार्टीकै पदाधिकारीसँग सल्लाह गरेर पार्टी छाड्नुले भोलि उनीहरू स्वयंमले पार्टी छाड्नका लागि आधार बनाएको हुन सक्ने आशंका व्यक्त गरे ।