
काठमाडौं, १३ फागुन । नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।
आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनले राष्ट्रपति निर्वाचनमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको बताए । बैठकले सत्ता गठबन्धनको पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेको उपमहासचिव गुरुङको भनाइ छ ।
यसअघि, आजै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित आठ दलीय गठबन्धन बनाउने सहमति गरेसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।












प्रतिक्रिया