
काठमाडौं, १२ फागुन । नेपाल शेर्पा संघका अध्यक्ष ग्याल्जे लामा शेर्पाले धर्मको नाममा हस्तक्षेप गर्ने प्रवृत्ति बढिरहेको बताएका छन् ।
नेपाल शेर्पा संघले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान सम्मान तथा चियापान कार्यक्रममा उनले धर्म संस्कृतिको नाममा मौलिक संस्कृतिमाथि हस्तक्षेप भइरहेको बताए ।
उनले भने ‘धर्मको नाममा हस्तक्षेप भइरहेको छ । आज पनि हाम्रो संस्कृतिमाथि हस्तक्षेप हुँदैछ । हाम्रो धर्ममाथि हस्तक्षेप हुँदैछ । यो कुरामा हामीले विचार पुर्याउनु पर्ने छ ।’
शेर्पा समुदायको नयाँ वर्ष तथा सांस्कृतिक पर्व अर्थात २१५० औं ग्याल्वो ल्होसार विविध कार्यक्रम गरी मनाइए पनि लुम्बिनी जस्तो पवित्र स्थलमा रामकथा सुनाउने जस्तो अन्तराष्ट्रिय हस्तक्षेप भएको अध्यक्ष शेर्पाको भनाइ छ । चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिताले शेर्पा समुदायको कला संस्कृतिको संरक्षण र विकासमा सरकार गम्भिर नबनेको गुनासो गरेका छन् ।
आदिवासी जनजातिको समग्र हितका लागि ल्होसार लगायतका सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ । आफ्नो संस्कृतिको जर्गेना तथा विकासका लागि सबैले सक्दो पहल गर्नुपर्नेमा उनीहरूले जोड दिए । नेपाल शेर्पा संघले सो अवसरमा विभित्र दलबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेको छ ।












प्रतिक्रिया