३१ आश्विन २०८३, शनिबार

मकवानपुर गोल्डकपको उपाधि मनाङलाई, दीप कार्कीले जिते बुलेट मोटरसाइकल

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १० फागुन । पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लबले हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो ।

मनाङको लागि रोशन रानामगरले गरेको गोल निर्णायक गोल बन्यो । उनले खेलको ७७औँ मिनेटमा गोल गरेको थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

उपाधिसँगै मनाङले नगद १५ लाख हात पार्‍यो भने उपविजेतामा चित्त बुझाएको हिमालयनले नगद १० लाख हात पार्‍यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल जिते ।

बुलेट मोटरसाइकलको प्रायोजन गरेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीले कार्कीलाई मोटरसाइकलको चाँबी हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स हिमालयनका अमृत श्रेष्ठ, उत्कृष्ट फरवार्ड हिमालयनकै विदेशी खेलाडी युमि घोषित हुँदा उत्कृष्ट मिडफिल्डर मनाङका कमल थापा, उत्कृष्ट गोलकिपर मनाङका दीप कार्की र उत्कृष्ट प्रशिक्षक मनाङका किरण श्रेष्ठ घोषित भए । उनीहरुले नगद जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको गोल्डकपमा आयोजक मकवानपुरसहित १२ टोलीको सहभागिता रहेको थियो ।