
मकवानपुर, १० फागुन । हेटौंडामा जारी पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९’को फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि काठमाडौंको मनाङ मस्र्याङदी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदै छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेल दिउँसो १ बजेबाट सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
मनाङ आइतबार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको (एपीएफ ) क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको थियो भने हिमालयन विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले नगद १० लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् भने विद्यागत उत्कृष्ट खेलाडीले नगद २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
२०६२÷०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघले गरेको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो ।
यसैगरी, २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।















प्रतिक्रिया