
सिन्धुली, ७ फागुन । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीमा इन्धन, पुस्तकालय र यातायातको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार जिल्ला कारागार सिन्धुलीको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले कारागार सिन्धुलीका कैदी बन्दीका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला कारागार सिन्धुलीमा हाल सम्म कुनै पनि सवारी साधन नहुँदा कैदी बन्दी बिरामी हुँदा अस्पताल जान तथा अदालत हाजिर हुन जान समेत निकै सास्ती व्यहोरिरहेका छन् । २ सय ५० को क्षमता भनिएको (कैदी बन्दी पुरुष ७ सय ७९ जना, महिला ९१ जना र आश्रित बालबालिका १४ जना सहित ८ सय ८४ जना) रहेको जिल्ला कारागारमा हालसम्म दाउरा प्रयोग गरेर नै खाना बनाउनु पर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका थिए । दाउरा अभावमा निकै सास्ती व्यहोरिरहेका कैदी बन्दीलाई तत्काल खाना पकाउने ग्यासको व्यवस्था गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।
कारागारमा रहेका बेरोजगार कैदी बन्दीलाई आयमुलक शिप सिकाउने व्यवस्था गरि त्यहाँबाट उत्पादित समाग्रिहरुको राज्यले खरिद गरेर व्यवस्थापन गर्ने मन्त्री श्रेष्ठले बताए । कैदी बन्दीको जीवनलाई सहजताका साथै श्रृजनशिल बनाउन कारागारमा व्यवस्थित पुस्तकालयको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत गरे ।
१० वर्षीय जनयुद्धको क्रममा ५ वर्ष ३ महिना लामो कष्टकर कैद जीवन बिताएका मन्त्री श्रेष्ठ हाल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री छन् । राजनीतिक जिवनमा कैदी जीवनको तितो भोगाइ भोगेका मन्त्री श्रेष्ठ हाल सोही सम्बन्धित मन्त्री छन् । अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवाल, जिल्ला कारागरा प्रमुख कुशल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया