
काठमाडौं, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।
आज शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित सपथ समारोहमा अध्यक्ष ओलीले निर्वाचित भएको नयाँ जोश र जाँगरको प्रयोगबाट चैत ५ गते हुने स्ववियु निर्वाचनमा सानदार जित निकाल्न थप क्रियाशील हुनुपर्ने बताएका छन् ।
स्ववियु निर्वाचनमा एमालेको संगठनसँग टिक्न नसकेर जन्म भएको कांग्रेसनिकट नेविसंघलाई पराजित गर्नेगरी तयारी गर्न अध्यक्ष ओलीले अनेरास्ववियुलाई निर्देशन दिएका छन् । ‘चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पसमा अनेरास्ववियुलाई बिजयी गराउने गरि तयारी गर्न अब तपाइँहरूको ध्यान केन्द्रित हुनुपर्छ,’ अध्यक्ष ओलीले भने ।
उनले लामो समयदेखि नभएका जनसंगठनका सम्मेलनहरु दुई महिनाभित्र गर्ने पनि बताएका छन् । चैत्रभित्रै सबै जनसंगठनहरुको सम्मेलन गर्ने र त्यसको सुरुवात अनेरास्ववियुबाट भएको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले सम्मेलनहरू आवश्यकता अनुसार अनेरास्ववियु जस्तै लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न हुने बताएका छन् ।
झण्डै सात बर्षपछि भएको अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । त्यस्तै संगठनको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् ।
अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि हिजो मतदान भएको थियो ।















प्रतिक्रिया