
त्रिशूली, ५ फागुन । नुवाकोट र रसुवामा जारी रहेको पीपीआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई हैजा रोगविरुद्धको खोप लगाइने भएको छ ।
नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पीपीआर खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गरेका छन् ।
उनका अनुसार नुवाकोटका दुई लाख ३५ हजार र रसुवाका ३१ हजार भेडाबाख्रालाई खोप लगाउन दुई जिल्लामा रहेका १७ स्थानीय तहका पशुसेवा शाखा प्रमुखको समन्वयमा ६० जना भ्याक्सिनेटर (खोपकर्ता) परिचालन गरिएको छ ।
हैजा यो रोग लागेमा चौबीस घण्टादेखि एक साताभित्र प्राणसमेत जाने भएकाले किसानलाई पशुधनको रक्षा गर्न, पशुपालन पेसामा टिकाइराख्न र व्यावसायिक रुपमा निरन्तरता दिने वातावरण सुनिश्चित गर्न भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रम बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अभियानका रुपमा प्रदेशका सबै जिल्लामा सञ्चालन भइरहेको जनाएको छ ।















प्रतिक्रिया