
काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनको आमा ८६ वर्षीया हरिकलाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा लगायतका नेताहरू कीर्तिपुर अस्पताल पुगेका हुन् ।
सांसद भण्डारी र उनकी आमाको आइसियूमा उपचार भइरहेको छ ।
बुधबार राति साढे १० बजे अस्पताल आइपुगेका उनीहरूको स्वास्थ्य अवस्था जटिल रहेको भन्दै अस्पतालले देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको छ ।
अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनीहरुको उपचार नेपालमा सहज हुने नदेखिएको जनाउँदै तत्तकाल देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको हो ।
सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब २५ देखि ३० प्रतिशत भाग र आमाको जीउको अधिकांश करिब ७० प्रतिशत भाग जलेको अस्पतालको विज्ञप्तीमा जनाइएको छ ।
सांसद भण्डारी र उनको आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको बताइएको छ ।
बुद्धनगरस्थित सांसद भण्डारीको निवासमा गएराति करिब १० बजे खाना पकाउन प्रयोग हुने सिलिण्डर विस्फोट भएको थियो ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।












प्रतिक्रिया