
काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मङ्गलबारदेखि राजधानीमा सुरू गरेको ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’को उद्घाटन गर्दै उउनले उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने बताए ।
लघु, घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनर्कर्जा प्राप्त गर्ने वातावरण बनाइने आश्वासन उनले दिए । उत्पादनमूलक लघु घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जालाई पुन:परिभाषित गर्दै सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याइने प्रधानमन्त्री दाहालको भनाइ छ ।
बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सृजना गरेको लघु घरेलु तथा साना उद्योगमा परेको पुँजी अभाव लगायत समस्यालाई पनि सरकारले सम्बोधन गर्ने पनि उनले बताए । लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै त्यसबारे उचित समाधान खोजिने पनि उनले बताए ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उनले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सरकारले सदैव निजी क्षेत्रसँगको सहकार्यबाट अगाडि बढ्ने बताए ।















प्रतिक्रिया