
काठमाडौं, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली भान्सालाई औषधालयका रूपमा परिणत गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले त्यसका लागि खानेकुरामा विषादी तत्व नहोस् भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । एमालेको केन्द्रीय कृषि तथा पशुपंछी विभागको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको ‘निरोगी नेपाल’ नीति सफल पार्न कृषि क्षेत्रको आधुनिकीकरणमा गर्नुपर्ने कामका बारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने विचार व्यक्त गरे ।
अध्यक्ष ओलीले भने– कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दा रासायनिक मलको न्यून प्रयोग गर्दै क्रमशः प्राङ्गारिक मलको प्रयोगमा जानुपर्छ । मानव स्वास्थ्यका लागि हानिकारक विषादी प्रयोग गर्ने कुरामा सतर्कता अपनाउनुपर्छ, ध्यान पुर्याउनुपर्छ । विस्तारै माटोलाई स्वस्थ बनाउनुपर्छ ।
अध्यक्ष ओलीले ठूलो परिमाणमा कृषि उत्पादन गरी आन्तरिक खपतमात्र नभई निर्यातको अवस्था सिर्जना गर्नुपर्ने तथा उत्पादन बढाउँदा बजारको पनि अभाव नहुने बताए । उनले कृषि उत्पादनलाई सहकारीमार्फत बजारसम्म पुर्याउने व्यवस्था गर्न सुझाए । उनले कृषिमा लागत कम र उत्पादन बढी कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने र विभागले कृषिका हरेक क्षेत्रको विकासका लागि दिने सुझाव सरकारबाट कार्यान्वयन गराइने बताए । बैठकमा कृषि तथा पशुपंछि विकासमन्त्री तथा पार्टीका पोलिटव्यूरो सदस्य ज्वालाकुमारी साह उपस्थित थिइन् ।
बैठकमा अध्यक्ष ओलीलाई पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख गिरधारीलाल न्यौपानेले विभागले तयार गरेका सुझाव प्रदान गरेका थिए । सुझावमा किसानका समस्या समाधान र कृषि क्षेत्रको विकाससँग सम्बन्धित रहेका र सरकारबाट कार्यान्वयन गराउनुपर्ने न्यौपानेले बताए ।
विभागले तयार गरेका सुझावहरूमा तत्काल सम्वोधन गर्नुपर्ने विषयहरू, नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने समग्र विषयहरू, भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषि, सम्पन्न र सम्मानित किसानका लागि गर्नुपर्ने काम, आधुनिक कृषिशिक्षा र जनशक्ति व्यवस्थापन, उच्च उत्पादकत्व सुनिश्चितता सहितको सिँचाइ, किसान पहिचान र वित्तीय सेवासहितको सम्मुन्नत कृषि र युवा र महिलामैत्री कृषि कार्यक्रमका विषय समेटिएका छन् ।












प्रतिक्रिया