
काठमाडौं, २१ माघ । काभ्रेको चौंरीदेउरालीमा कालिज मार्न भरूवा बन्दुक पड्काउँदा छर्राले एकजना घाइते भएका छन् ।
घाइते हुनेमा चौंरीदेउराली गाउँपालिका-४ बस्ने ४० वर्षीय रामचन्द्र गौतम रहेका छन् । बिहीबार चौंरीदेउरालीको धुसिनि शिवालयको जंगलमा कालिज मार्ने क्रममा भरूवा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर गौतम घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
छर्रा लागेर घाइते भएका गौतमलाई स्थानीय अस्पतालमा सामान्य उपचार गराएर थप उपचारको लागि उनको आफन्तले ललितपुर स्थित बी एण्ड बी अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।
गौतमको आँखा र दाहिने गालामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गौतमलाई थप उपचारको लागि तिलगंगा आँखा अस्पतालमा रिफर गरिएको छ ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर भरूवा बन्दुक खोततलास गरेपनि बन्दुक हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया