
काठमाडौं, २१ माघ । पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
आज बस्ने बैठकमा समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारे निर्णय हुने बताइएको छ ।
बैठकमा स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।
यसअघि प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता कारण बुधबार र बिहीबार बिहान स्थगित भएको बैठक पुनः शुक्रबार अपरान्ह ३ बस्ने निर्णय भएको थियो । तर शुक्रबार पनि बैठक बस्न नसकेपछि आज शनिबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको छ ।
आजको बैठकले रास्वपासँगको विवाद र केन्द्रीय विभागको कार्यविभाजनको बारेमा निर्णय लिने बताइएको छ ।
यसैबिच रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेट आज शनिबार सकिँदै छ ।
गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो ।
बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि रास्वपाले दुई दिन कुर्ने निर्णय गरेको थियो ।












प्रतिक्रिया