शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, २८ जना घाइते

दैनिक नेपाल २०७९ माघ १२ गते २१:३८

जलेश्वर, १२ माघ । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर लोहार र नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षीया एक महिलाको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

लोहारलाई औरही नपा–२ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ बस्ने रोशनलाल महतोको ना३७प ७२३१ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो ।

त्यसैगरी आजै सिन्धुली जिल्लाको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किँदै गरेको प्रदेश२–०२–००१त २२६४ नं को ट्र्याक्टर बर्दिबास नगरपालिका–३ स्थित पाटुमोडमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर, वतन नखुलेको ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । सो दुर्घटनामा परेर अन्य २८ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १२ जनाको उपचार बर्दिबासस्थित जनसेवा अस्पताल, नौको साइमल्टी स्पेस्लिटी अस्पताल र सात जनाको उपचार शुभस्वस्तिक अस्पताल बर्दिबासमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका यात्रुहरू महोत्तरी, धनुषा र केही भारतीय रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित