
काठमाडौं, ७ माघ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली, मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार यस्तो छ आज शनिबारको मौसमः
दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीː प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका धेरै भू-भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।












प्रतिक्रिया