
हेटौंडा, ३ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियान जारी भएकाले यात्रा रोकिने नभई अविछिन्न रहने बताएका छन् ।
आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले म्याराथन दौडमा कुदेको खेलाडीको नतिजा अन्तिममा आउने भन्दै आत्मसमर्पण र बिलयको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् । ‘स्वाभिमानीपूर्वक पार्टी उठाउछौँ, उठ्छ’ भन्दै थापाले निर्वाचनमा ठूलो अपेक्षा थिएन, तर पनि सोचे अनुसार परिणाम नआएको विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।
राप्रपा नेपालको औचित्य र महत्व अझै बढेको चर्चा गर्दै थापाले भने, ‘हामीलाई सरकारमा गएर गल्ती गर्यो, गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरु आज कता छन्,’ प्रश्न गर्दै अध्यक्ष थापाले भने, ‘हामीले आदर्श र सिद्धान्तलाई सत्तासँग साटेको छैन, योजनाबद्ध र षड्यन्त्रपूर्वक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुन्छ र भ्रम निवारण हुनेछ ।’
आज आफूहरुले कठिन बाटो रोजेको भन्दै उनले पटक–पटक अग्नी परीक्षा पार गरेको मान्छेलाई लान्छना लगाई चरित्र हत्या गरेकामा गुनासो समेत गरे । राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने स्पष्ट पार्दै थापाले सत्तामा नजाने अब सिद्धान्त केन्द्रित राजनीति गर्छौँ भन्नेहरु, हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डालाई ‘डिफ्रीज’मा राखेर सत्तारोहण गरेको समेत आरोप लगाए । राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो, शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीतिविपरीत राप्रपा सत्तामा गएको भन्दै उनले बताएका छन् ।















प्रतिक्रिया