३१ आश्विन २०८३, शनिबार

ट्याक्सी व्यवसायीको १६ बुँदे माग : इम्बोस्ड नम्बर नेपाली भाषामै बनाऔँ, भाडा स्वचालित गरौँ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै विभिन्न १६ बुँदे माग सार्वजनिक गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने, एकद्वार कर प्रणाली लागू गर्नुपर्ने र इम्बोस्ड नम्बर प्लेन नेपाली भाषामै बनाइनुपर्नेलगायत विभिन्न माग उनीहरूले अगाडि सारेका छन् ।

आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी समाजले महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, चालकले लगाउनुपर्ने पहेँलो ज्याकेटको अनिवार्यता हटाउनुपर्ने तथा पेशा–व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले अहिलेसम्म विभिन्न समयमा ४३ जना ट्याक्सी चालकको हत्या भएको र उनीहरुको हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । त्यसैगरी, इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरु मान्न तयार नरहेको उनले स्पष्ट पारेका छन् ।

‘हामीलाई इम्बोस्ड नम्बर भनेर राज्यले कालो धब्बा लगाउन खोजेको छ । यसमा नेपाल सरकारको ध्यानाकर्षण होस् । हामी पहेँलो प्लेटको नम्बर मान्दैनौं । हामीलाई नेपाल र नेपालको सम्वत् र देवनागरीमा जीपीएस फिट गरिएको नम्बर चाहिन्छ,’ अध्यक्ष पूर्वछानेले भने ।

साथै, विदेशीको नाममा र विदेशी एपहरु खारेज गरी महानगर र सरकारले नै एपको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् । निजी प्रयोजनका लागि लिइएको सवारी साधनले भाडाको काम गरेर सवारी ऐनको धज्जी उडाएको उनको दाबी छ । आफूहरुको माग पूरा नभए सम्पूर्ण सवारी साधन टुँडीखेलमा लगेर थुपारिदिने चेतावनी उनले दिएका छन् ।