३१ आश्विन २०८३, शनिबार

नयाँ सरकार बन्नेवित्तिकै लगानीकर्ता ढुक्क भए, शेयरबजारमा नाटकीय परिवर्तन आयो : शंकर पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट सरकार बन्नेवित्तिकै नेपालका लगानीकर्ता ढुक्क भएको र फलस्वरुप शेयर बजारमा नाटकीय परिवर्तन आएको बताएका छन् ।

विगतको पाँच दलीय गठबन्धनबाट बनेको परमादेशी सरकार नेपालका लगानीकर्ता र समग्रह अर्थतन्त्रका लागि अनुपयुक्त रहेको बताउँदै उनले अहिले नेपालका लगानीकर्ता ढुक्क भएको बताएका हुन् ।

पाल्पा–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट नेतृत्वको सरकार बन्नेवित्तिकै शेयरबजारमा नाटकीय परिवर्तन आउनुले विगतको सरकार हदैसम्म नालायक रहेको पुष्टि हुने बताए ।

‘विगतको सरकार कति नालायक थियो भन्ने कुराको एउटा दृष्टान्त शेयर बजार हो,’ महासचिव पोखरेलले भने, ‘कम्युनिष्ट नेतृत्वको सरकार गठन हुनेवित्तिकै शेयरबजारमा नाटकीय परिवर्तन आयो । नेपालका लगानीकर्ताहरू ढुक्क भए । शेयर बजारमा सकारात्मक परिवर्तन देखा पर्न थाल्यो । अर्थात् विगतको सरकार कति अयोग्य र नालायक रहेछ भन्ने दृष्टान्त शेयर मार्केटले नै बताइदियो ।’

उनले अगाडि भने, ‘एमालेले भन्दाखेरि यही कुरा पूर्वाग्रही हुन्थ्यो । शेयर मार्केटले नै के कुरा बताइदियो भने पाँच दलीय गठबन्धनको अन्त्य हुनु नै नेपालमा लगानीको वातावरण बन्नु हो भन्ने कुराको सन्देश शेयर मार्केटले दिएको छ ।’

अर्को प्रसङ्गमा उनले वर्तमान सरकारलाई सफल बनाउने महत्वपूर्ण चुनौतीको बीचमा आफूहरू रहेको बताएका छन् । भिन्न महत्वकांक्षा र भिन्न–भिन्न एजेण्डा बोकेका दलहरूबीच सहकार्य गरेर सरकारलाई सफल तुल्याउनु स्वाभाविक चुनौती भए पनि मुलुकका लागि बाध्यकारी अवस्था भएकाले वर्तमान सरकारलाई सफल पार्नुपर्नेमा जोड दिए ।