
पोखरा, ३० पुस । गण्डकी प्रदेश सभाको सभामुखको लागि आज निर्वाचन हुने भएको छ ।
सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो ।
प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन् ।
सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बनेका छन् । माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो । सोहीअनुसार नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् ।
गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले सभामुखमा गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य रहेका छन् ।












प्रतिक्रिया