३१ आश्विन २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : सन्दीपले २० लाख बुझाएकोदेखि विदेशमा पैसा लगेर लगानी गर्न कडाइसम्म

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नाबालिका बलात्कार आरोपमा कारागार चलान भएका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछाने आज रिहा भएका छन् ।

उच्च अदालत पाटनले हिजो बिहीबार गरेको फैसलाअनुसार आज उनी २० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । शुक्रबार दिनभर सन्दीप लामिछानेसम्बन्धी समाचारहरू प्रमुखताका साथ प्रकाशित/प्रसारित भइरहे ।

यस्तै एमालेमा टिकट नपाएर पार्टी परित्याग गरी स्वतन्त्र निर्वाचन लडेर पराजित भएका बामपन्थी नेता घनश्याम भुसाल आज पुनः राजनीतिक यात्रामा जोडिदै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आफ्नो राजनीतिक जीवनकालमा आफूले गरेका कामको चर्चा गर्न छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूलाई आरोप र गालीको वर्षा गराउँदै उनी भूमिकाबिहीन रूपमा नेकपा एस प्रवेश गरेका हुन् ।

साथै विभिन्न प्रदेशहरूमा नियुक्त भएका मुख्यमन्त्रीको सपथ, विश्वासको मत, सभामुखहरूको सपथ र मन्त्रीहरूको नियुक्तिको विषयले पनि शुक्रबार सञ्चारमाध्यमहरूमा राम्रो स्थान पाएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–

१. छुटे सन्दीप लामिछाने : नाबालिका बलात्कार आरोपमा कारागार चलान भएका क्रिकेटर सन्दीप लामिछाने कारागारमुक्त, छिट्टै खेलमा फर्किने सन्दीपको प्रतिक्रिया, कानुनी प्रक्रिया बुझ्दै नेपाल क्रिकेट संघ ।

२. सरकारको सहयोग रहन्छ : नेपाली हस्तकलाको मौलिक शीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवद्धता, हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने भनाइ ।

३. घनश्याम नेकपा एसमा प्रवेश : वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश, समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादीबाहेक अरु कुनै पार्टी नरहेको दाबी ।

४. संकल्पको खाँचो छ : नेता र प्रधानमन्त्रीले चाहेर मात्रै भ्रष्टाचार न्यूनीकरण गर्न नसकिने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाई, भ्रष्टाचारविरुद्ध लड्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड ।

५. पाठक बने सभामुख : बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुको प्रस्ताव बहुमतबाट अस्वीकृत ।

६. मुख्यमन्त्री अधिकारीले पाए विश्वास : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत, नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरी ३१ जना सांसदद्वारा विश्वासको मत व्यक्त ।

७. मुख्यमन्त्री यादवले लिए सपथ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलले पद तथा गोपनीयताको सपथ लिए, मुख्यमन्त्रीद्वारा नेकपा एमालेका सरोज यादव, जनता समाजवादी पार्टीका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहा मन्त्री नियुक्त ।

८. दलको नेतामा साह : मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत साह निर्वाचित, प्रतिस्पर्धी युवराज प्रसाद भट्टराईले ३ मत पाउँदा ६ मत पाएर साह निर्वाचित ।

९. बालेनले मागे सुरक्षा : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मागे गृहमन्त्रालयसँग व्यक्तिगत सुरक्षाकर्मी, अनधिकृत बस्ती हटाउन थालेसँगै सुरक्षा खतरा बढेको भनाइ ।

१०. भ्रष्टाचार मुद्दा दायर : अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर, १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रूपैयाँ ९२ पैसा बिगो माग दाबी ।

११. पैसा लैजान कडाइ : नेपाल राष्ट्र बैंकद्वारा विदेशमा पैसा लैजान थप कडाइ, कानुनले तोकेकोबाहेक विदेशमा कुनै पनि प्रकारको लगानी नगर्न आग्रह ।

१२. चल्दैछ डोजर : काठमाडौं महानगरपालिकाद्वारा अनधिकृत संरचना हटाउने कामलाई निरन्तता, शुक्रबार नयाँ बानेश्वर चोकमा चल्यो डोजर ।

१३. थप धितोपत्र सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत, चालू आर्थिक वर्षको मङ्सिर मसान्तमा सूचीकृत छ अर्ब ९३ करोड कित्ता शेयरको चुक्ता मूल्य छ खर्ब ८३ अर्ब ७६ करोड ।

१४. मृतकको संख्या दश पुग्यो : अफगानिस्तानको राजधानी काबुलस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको संख्या दश पुग्यो, जिहादी इस्लामिक स्टेट्स समूहले लियो आक्रमणको जिम्मा

१५. नेपाल र भारत भीड्दै : नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोलीबीच फागुनमा मैत्रीपूर्ण खेल हुँदै, महिला राष्ट्रिय फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि भारतले गरेको प्रस्तावलाई स्वीकार गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठकको निर्णय ।