३१ आश्विन २०८३, शनिबार

गण्डकीमा भोलि सभामुखको निर्वाचन हुँदै, को–को छन् उम्मेदवार ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २९ पुस । सभामुख चयनका लागि गण्डकी प्रदेश सभाको बैठक भोलि शनिबार अपराह्न ३ बजे बोलाइएको छ ।

प्रदेश सभाको आज शुक्रबार बसेको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन् ।

सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलको आज शुक्रबार साँझ बसेको बैठकले गोरखा–१ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ । गण्डकीमा नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी सहमति गरिएको हो ।

सहमति अनुसार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेकका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले सभामुखमा पनि गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

सभामुख चयनका लागि निर्वाचन प्रक्रिया अघि बढे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।