
काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशिचन्द्र बराल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हिजो बिहीबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बराललाई खादा र अबीर लगाई स्वागत गरे ।
बराल कालीकोटको रास्कोट नगरपालिकाका पूर्वमेयर हुन् । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए ।
महासचिव पोखरेलले नेता बराल पार्टीमा समाहित भएपछि कर्णाली प्रदेशमा पार्टी कामलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा गत निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको र पार्टीलाई वैचारिक, राजनीतिक र सांगठानिक रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलको भनाई थियो ।
मुलुकको विकास र समृद्धिका लागि एमालेलाई सुदृढ राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरा प्राथमिकताको विषय भएकाले साना र अन्य कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरेर ध्रूबीकृत गरिने बताए ।
महासचिव पोखरेलले एमालेमा समाहित हुनुहुने अन्य पार्टीका नेताकार्यकर्ता आफ्नो राजनीतिक इतिहाससहित समाहित हुने बताउँदै बराललाई पनि उचित जिम्मेवारी प्राप्त हुने विश्वास दिलाए ।
नवप्रवेशी बरालले नेकपा (एमाले) ले नेकपाको विरासतलाई कायम राख्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सक्छ भन्ने विश्वासका साथ एमालेमा समाहित भएको बताए ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इञ्चार्ज नगिन्द्र शाही लगायतको उपस्थिति थियो ।















प्रतिक्रिया