३१ आश्विन २०८३, शनिबार

आईपीओको तयारीमा रहेको नर्भिक अस्पतालद्वारा बम्पर लाभांश पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ ।

शुक्रबार थापाथलीस्थित बीएलसीको सभाकक्षमा सम्पन्न दोस्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संसोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो ।

यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो ।

सञ्चालक समितिले लगेको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) वितरण गरिने थियो । तर, साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साधारणसभाको उद्घाटन नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।

हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका अजेण्डाहरु पनि पारित भएका छन् ।

नर्भिक अस्पताल आईपीओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो हो ।