३० कार्तिक २०८३, सोमबार

मकवानपुरको मनहरीमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएका ३ जनाको मृत्यु, ठक्कर दिने सवारीको खोजी कार्य जारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ पुस । मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना ग्रस्त अवस्थामा भेटिदाँ गम्भीर घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गएराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीको ज्यामिरेमा ना ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटना ग्रस्त अवस्थामा देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले घटना स्थलको प्रारम्भिक अनुसन्धान गर्दा स्कुटरलाई कुनै सवारीले ठक्कर दिएको हुन सक्ने बताए । उनले दुर्घटना ग्रस्त अवस्थामा भेटिएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनका अनुसार मृत्यु हुनेमा मनहरी-८ सिमपानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ-३ लावती बस्ने अन्दाजी ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । तीनै जनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीको खोजी कार्य तीब्र पारिएको प्रवक्ता कार्कीले बताए । उनले स्कुटरमा कति जना सवार थिए भन्ने एकिन नभएको तर दुर्घटना ग्रस्त अवस्थामा ३ जना भेटिएको र उनीहरुको उपचारको क्रममा मृत्यु भएको बताए ।

गएरातीनै घटनाको विषयलाई लिएर स्थानीयहरुले सडक अवरुद्ध गरेका थिए । हाल सडक खुलाइएको प्रहरीले जनाएको छ ।