३१ आश्विन २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : सन्दीप लामिछाने रिहादेखि टिकटकमै जुवा खेलाउनेसम्म

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । बिहीबार दिनभर राजनीतिक घटनाक्रमहरूकै चर्चा परिर्चा बढी भयो ।

राजनीतिका अलावा नाबालिका बलात्कार आरोपमा कारागार चलान भएका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटीमा रिहा भएको, भिडियो शेयरिङ एप टिकटकबाटै जुवा खेलाउने, बैंकको ब्याजदर घटाइने तथा वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी लगायत समाचार पनि आजका प्रमुख विषय बने ।

साथमा विभिन्न प्रदेशमा नियुक्त भएका मुख्यमन्त्री, मन्त्री रनिर्वाचित सभामुखहरूको सपथलगायत समाचारहरूले पनि बिहीबार राम्रै स्थान पाएका छन् ।

हेरौँ, आज दिनभरमा मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. अन्ततः छुट्ने भए क्रिकेटर सन्दीप : नाबालिका बलात्कार आरोपमा कारागार चलान भएका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतको आदेश, विदेश जान नपाउने ।

२. प्रचण्ड र ओलीको दौडधूप : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लगातार भेटवार्ता, मन्त्रिपरिषद् विस्तार, मन्त्रालय बाँडफाँट र सभामुख–उपसभामुखको निर्वाचनका विषयमा छलफल ।

३. प्रधानमन्त्री र राजदूतको भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता, दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल ।

४. आदेश होइन कानुनलाई मानौँ : सुरक्षा निकायलाई आदेशको नभइ कानुनको पालना गर्न गृहमन्त्री रवि लामिछानेको निर्देशन, आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन् बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ ।

५. ब्याजदर घट्ने : माघदेखि वाणिज्य बैंकहरूको ब्याजदर घटाउँदै, नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउने सीमामा रहेर ब्याजदर घटाउन लागिएको नेपाल बैंकर्स एसोसिएशनको भनाइ ।

६. डीआईजीको सरुवा : प्रहरी प्रधान कार्यालयद्वारा नेपाल प्रहरीका १७ जना डीआईजीको सरुवा, सातै प्रदेशका प्रमुख पनि फेरिए ।

७. अन्ततः माधव नेपालकै साथ घनश्याम : घनश्याम भुसालले राखेका प्रस्ताव स्वीकार गर्ने नेकपा एकीकृत समाजवादी पार्टीको निष्कर्ष, प्रस्ताव स्वीकारसँगै नेकपा एस प्रवेश गर्ने तयारीमा रहेका भुसालले भोलि पत्रकार सम्मेलन गर्दै ।

८. जापानी प्रतिनिधिले भेटे माधव नेपाल : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेटवार्ता, नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायत विषयमा जापान सरकारको सहयोगबारे छलफल ।

९. मुख्यमन्त्री शर्माले लिए सपथ : कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले लिए पद तथा गोपनीयतको सपथ, माओवादी केन्द्रका मंगल शाही र एमालेका विनोदकुमार शाह बने बिनाविभागीय मन्त्री ।

१०. बागमतीको सभामुखमा त्रिपक्षीय प्रतिस्पर्धा : बागमती प्रदेशको सभामुखका लागि तीन दलका तीन जनाको उम्मेदवारी दर्ता, राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सायजुबीच प्रतिस्पर्धा ।

११. लुम्बिनीमा चेतनारायण र कृष्णा बने मन्त्री : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनीयताको सपथ, एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई बिनाविभागीय मन्त्रीको सपथ ।

१२. सुदूरको सभामुख बने भण्डारी : सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता भिम भण्डारी निर्वाचित, निर्वाचित भण्डारीले २७ मत पाउँदा कांग्रेसका उम्मेदवार मानबहादुर रावलको २३ मत ।

१३. टीकटकबाटै जुवा : टीकटकमा जुवा खेलाउने चार जना पक्राउ, पक्राउ पर्नेमा दाङका ऋषि प्रकाश योगी, भक्तपुरका कपिल गिरी र प्रेम कठायत तथा कैलालीका डिल्लीराज अवस्थी रहेको प्रहरीद्वारा जानकारी ।

१४. जैविक पदार्थ फेला : विद्युतीय गाडी उत्पादनका लागि आवश्यक पर्ने जैविक पदार्थ स्वीडेनको सुदूर–उत्तरमा भेटियो, फलाम खानीको छेउमा भेटिएको पदार्थ १० लाख टन भन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको दाबी ।

१५. जोआओ चेल्सीमा : पोर्चुगिज फरवार्ड जोआओ फेलिक्स इंग्लिस क्लब चेल्सीमा अनुबन्धित, चेल्सीले फेलिक्सलाई ११ मिलियन पाउन्ड खर्च गरेको दाबी ।