
काठमाडौं, २८ पुस । भिडियो शेयरिङ एप टीकटकमार्फत अनलाइन जुवा खेलाउने ४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङको राप्ती गाउँपालिका वडा नं. ३ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं १० का २७ वर्षीय कपिल गिरी, भक्तपुरकै मध्यपुर ठिमि नगरपालिका वडा नं. ६ घर भई मध्यपुर ठिमी कै वडा नं. १ मा बस्ने २१ वर्षकै प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ६ घर भई भक्तपुर मध्यपुर ठिमि नगरपालिका वडा नं. १ मा बस्ने २० वर्षीय डिल्लीराज अवस्थी रहेका छन् ।
काठमाण्डौं उपत्यका भित्र ई-सेवा लगायतमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई लाभ लिने उद्देश्यले टीकटक लाइभमार्फत् रकमको बाजी राख्न लगाई जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका योगीले दुई वटा टीकटक आईडी खोलेर ई-सेवामा रकम जम्मा गर्न लगाई विभिन्न व्यक्तिहरुबाट एक महिना १० दिनको अवधिमा २८ लाख ७३ हजार ३ सय ५४ रुपैँया बराबरको रकम अनलाइन जुवामार्फत् कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।
यस्तै, कपिल गिरीले १० दिनको अबधिमा १० लाख ५२ हजार ९ सय ६२ रुपैँया र अवस्थी र कठायतले एक महिना ६ दिनको अवधिमा ९३ हजार २ सय १४ रुर्पैँया बराबरको जुवा खेलाएको पाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया