
काठमाडौं, २८ पुस । बागमती प्रदेशको सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी परेको हो । नेपाली काँग्रेसबाट शिवराज अधिकारी, नेमकिपाबाट सृजना सायजु र राप्रपाका भुवन पाठकले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेसका अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन्। सरकारलाई समर्थन गरेबापत बागमतीको सभामुखमा अधिकारीलाई गठबन्धनले समर्थन गर्नुपर्ने माग काँग्रेसले राख्दै आएको छ ।
यस्तै, सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवारी दर्ता गरेका छन्। सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाले उनलाई सभामुखको उम्मेदवार बनाएको हो। उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् ।
यस्तै, नेमकिपाकी सृजना सायजुले उम्मेदवारी दर्ता गरेकी छिन्। सायजुको प्रस्तावकमा नेपकिपाकै सांसद सुरेन्दै राज गोसाइ र समर्थकमा गीता काफ्ले रहेकी छिन् । सायजुले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बिहीबार सभामुखका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।















प्रतिक्रिया