३१ आश्विन २०८३, शनिबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले थाल्यो संयुक्त कारोबार

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एक भएर बनेको ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ ले संयुक्त कारोबार सुरु गरेको छ ।

‘समृद्धिका पथमा सँगै अघि बढ्दै’ नाराका साथ संयुक्त कारोबार सुरु भएको हो । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। दुई बैंकबीच सेयर स्वाप अनुपात १००:९० रहेको छ।

मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साबिक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन्।

नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन्। त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकका रुपमा मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहने छिन्।

संयुक्त कारोबारको शुभारम्भ गर्दै अध्यक्ष पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तीय सूचकमा अग्रता हासिल गर्न सक्षम हुनेछ भन्ने विश्वास व्यक्त गरे। दुई बैंकबीचको मर्जरले मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको उनको भनाई थियो ।

यस्तै, कार्यक्रममा बोल्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशका बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद् र सकारात्मक कदम भएको बताए। मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापनजस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै सेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास उनले व्यक्त गरे।

मर्जरपश्चात बैंकको कुल चुक्तापुँजी रु ३४.१२ अर्ब, कुल पुँजी रु ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु ४ खर्ब ७१ अर्ब, कुल निक्षेप रु ३६०.२ अर्ब तथा कजा लगानी रु ३२९.०६ अर्ब गरी कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकमध्येको एक अग्रणी बैंक बनेको छ।

त्यसैगरी मजरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९ शाखारहित बैंकिङ सेवा १०९ तथा एटीएम सञ्जाल २७९ पुगेको छ।

निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लालाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ।