
काठमाडौं, २७ पुस । आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्।
तात्कालिक गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्यसहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो। तर उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन्।
इतिहासकार दिनेशराज पन्तका अनुसार नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए।
उनले त्यसपछि क्रमश काठमाडौं खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए। त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए। उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे-मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे। केही समयमा उनले ती राज्यमाथि विजय पनि प्राप्त गरे। तर चौबीसे राज्यको संयुक्त सेनासँग टिक्न सकेनन्।
केयरसिंह बस्न्यातजस्ता भारदार मारिए र वंशराज पाँडेजस्ता भारदार शत्रुराज्यद्वारा समातिए। गोर्खाली सेना आफ्नो राज्यमा फर्कन बाध्य भयो। चौबीसे राज्यसँग पराजय खेपेपछि उनले पूर्वतिर एकीकरण अभियान थाले। पूर्वतिरको अभियान भने केही सहज देखियो।
पृथ्वीनारायणको सेना सजिलै अहिले नेपालको सीमा रहेको मेची नदीपारि परैसम्म पुग्यो। यो सफलताले उत्साहित बनेका उनी फेरि पश्चिमतर्फ आक्रमण गर्नुपर्यो भनी नुवाकोट पुगेका बेला अकस्मात् बिरामी परेको ऐतिहासिक लिखतहरूले देखाउँछन्। उनको मृत्यु विसं १८३१ माघ १ गते भएको थियो। उनको मृत्युबारे पर्वतका राजाले भारदारलाई लेखेको पत्रमा ‘गोर्खाका राजा हामी माथि दागा राखी दगा गर्न नुवाकोट आयाथ्या भगवत् इच्छा त आफैँ हेलिया’ अर्थात् ‘गोर्खाका राजा हामीलाई सिध्याउन आएका थिए तर भगवान्को इच्छाले आफैँ सिध्यिए’ भन्ने उल्लेख छ।
अरू लिखतमा पनि उनी बितेको कुरा पाइन्छ र कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन। विसं १९९२ मा भारतको दार्जेलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको ‘पृथ्वीनारायण शाह’ नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते भन्ने विवरण दिइएको छ।
विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको ‘नेपालको इतिहास अर्थात् दिग्दर्शन’ भन्ने पुस्तकमा पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो भन्ने उल्लेख छ।
-बीबीसी नेपालीबाट















प्रतिक्रिया