
काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा आज बुधबार दिउँसो भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
राप्रपाले दिउँसो १ बजेबाट भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागेको हो । समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार बुधबार बिहान १०ः३० बजे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
राप्रपाले आजै काठमाडौंको भृकुटीमण्डपमा रक्तदान र कवि गोष्ठि आयोजना गरिएको जनाएको.छ ।
नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो ।
उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाई सार्वजनिक बिदा दिन राप्रपाले माग गर्दै आएको थियो । नेपाल सरकारले आज बिदा दिने निर्णय गरेको छ ।












प्रतिक्रिया