३१ आश्विन २०८३, शनिबार

सरकारका दृष्टिकोण र प्रतिबद्धता मननीय छन् : माधव नेपाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आएका दृष्टिकोण र प्रतिबद्धता मननीय रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सदनमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले अधिकारको मागसँगै कर्तव्यप्रति उत्तिकै जिम्मेवार नबनेको परिस्थितिमा सरकारले भने जिम्मेवार भएर काम गर्ने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘मुलुकमा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको छ, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएर अघि बढ्न सके देशका लागि ठूलो काम भएको मानिनेछ ।’ पूर्वपश्चिम राजमार्गलाई खाल्डाखुल्डीविहीन तुल्याउन, दू्रतमार्गलाई छिटो अघि बढाउने, चुरे संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखियोस् भन्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘शिक्षा र स्वास्थ्यलाई जोड दिँदै कार्यशैली परिवर्तन, अनुगमन र कार्यान्वयनमा विशेष ध्यान दिइयोस् ।’

आफूहरुले चाहेको व्यक्ति नै प्रधानमन्त्री भएको र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत समर्थन गरिसकेपछि विश्वासको मतसम्बन्धी विषय स्वतः अघि बढिसकेको उनको भनाइ थियो । अध्यक्ष नेपालले सरकारलाई आफ्नो पार्टीका तर्फबाट समर्थन गर्दै विश्वासको मत दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।