३१ आश्विन २०८३, शनिबार

एमालेका जनसंगठनहरू भुत्ते भए, जनसरोकारका विषयमा एउटा आन्दोलन पनि गरेनन् : पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, २५ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनहरू भुत्ते हुँदै गएको बताएका छन् ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले जनसंगठनको सुदृढीकरणका लागि धुलीखेलमा आयोजना गरेको दुई दिने कार्यशालाको आज समापन सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीका सबै जनसंगठनहरूलाई धारिलो बनाउनुपर्नेमा जोड दिए ।

‘पाँच वर्षमा जनसरोकारका विषयमा एउटा आन्दोलन पनि नगर्ने जनसंगठन आवश्यक छैन,’ महासचिव पोखरेलले भने, ‘आठ लाख पार्टी सदस्य भएको पार्टीमा जनसंगठनहरूका आधारमा ५० लाख जनमत हुनुपर्छ ।’

एक संगठित सदस्य बराबर सात जना नागरिक एमालेका पक्षमा ल्याउने गरी काम गर्न पोखरेलले संगठनहरूलाई निर्देशन दिएका छन् । साथै संगठित सदस्य भएर पार्टीलाई मत नराख्नेहरूको सदस्यता खारेज गर्न जनसंगठन र पार्टीका कमिटीहरूलाई पोखरेलले कडा निर्देशन दिए ।

नेकपा (एमाले) निर्वाचनमा लोकप्रिय मतमा पहिलो पार्टी भए पनि जनसंगठनहरूको क्रियाशीलता नभएकै कारण पार्टीले प्राप्त गर्नुपर्ने मत कम आएको महासचिव पोखरेलको भनाइ छ ।

२२ वटा जनसंगठनका १३० जना सहभागी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले कार्ययोजना निर्माण, सदस्यता विस्तार र जनसरोकारका विषयमा सशक्त हुने गरी एक महिनाभित्र खाका प्रस्तुत गर्न निर्देशन दिएका छन् । हरेक जनसंगठनका वडा तहदेखिको क्रियाशीलता र जनसरोकारका विषयलाई खबरदारी गर्ने गरी संगठन सशक्त बनाउन महासचिव पोखरेलले अनुरोध गरेका छन् ।